बाजुरा। बाजुराको बुढीगङ्गा नगरपालिका–२ को पहिरोको जोखिम भएको बजेडी बस्तीमा पहिरो पूर्व सूचना दिने मेसिन (साइरन) जडान गरिएको छ । यहाँका स्थानीयलाई पहिरो आएको पूर्व जानकारी गर्ने गरी पहिरो पूर्व सूचना दिने मेसिन जडान गरेको हो ।
पानी परेको समय पहिरो गएर पुर्छ कि भन्ने डर डरैले सधैँ बर्खाका रात काट्दै आएको बूढीगङ्गा नगरपालिका–२ बजेडीका स्थानीय बताउँछन् ।
२०२२ देखि २०८० सम्म बजेडीका स्थानीयवासी पहिरोकै डरैडरमा रात काट्दै आइरहेका छन् । पहिरोका कारण यहाँका झन्डै ९० घरपरिवार पहिला नै विस्थापित भइसकेका छन् भने १३५ घर परिवार अझैँ पहिरोको उच्च जोखिममा छन् ।
यहाँका स्थानीयले बस्ती स्थानान्तरणका लागि स्थानीय प्रदेश र सङ्घीय सरकारसँग धेरै पटक माग राख्दै आएको भए पनि अहिलेसम्म कतैबाट यो कुराको सुनुवाइ नै भएको छैन् । पहिरोका कारण यहाँको झन्डै सात हजार रोपनी जमिन बगरमा परिणत भएको छ भने अझै पहिरो नरोकिएकोले यहाँका स्थानीयको नै उठीबास हुने अवस्था छ ।