देवसाइन। सप्तरी राजविराजको पहिचान गराउनेमध्येको एक रहेको राम मन्दिर निर्माण कार्यमा स्थानीयले तदारुकता देखाएका छन् । शनिबार मन्दिर निर्माणका लागि राजविराज–६ का खुसीलाल यादव कोशिलादेवी यादव दम्पतीले एक लाख ५६ हजार नगद दान गरेका छन् ।
सोही ठाउँका जितेन्द्रप्रसाद यादवले ५१ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ। जिल्लावासीको आस्थाको केन्द्रको रूपमा रहेको राम मन्दिरको कुनै प्रकारको आर्थिक कोष नरहेकाले चन्दा सङ्कलनबाटै मन्दिर निर्माणका लागि चाहिने सबै खर्च जुटाउनुपर्नेमा स्थानीय दाताहरू सहयोगको लागि तत्पर रहेको स्थानीयवासीले बताए।
नगरको धार्मिक इतिहास समेत बोकेका राजविराजको मुख्य गजेन्द्र चोकदेखि सिराहा रोडको सखडामोड नगर प्रहरी कार्यालयसँगै रहेको धेरै वर्ष पुरानो राम मन्दिर जिल्लाभरबाट राजविराज आउने नागरिकको बिच पुरानो चोकको रूपमा परिचित ठाउँ हो। केही वर्षअघि सडक बनाउने र फराकिलो गर्ने क्रममा इतिहास नै मासिने गरी मन्दिर भत्काइएको थियो ।