रुकुमपश्चिम। राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले भूकम्प प्रभावित क्षेत्रमा भवन पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्री निःशुल्क उपलब्ध गराउन माग गरेको छ।आइतबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तमार्फत नेपाल सरकारलाई ६ बुंदे ध्यानाकर्षणपत्र बुझाउँदै रास्वपाले एक पटकको लागि निर्माण सामाग्री निःशुल्क उपलब्ध गराउन सरकारसमक्ष माग गरेको हो ।
रास्वपा रुकुमपश्चिमले अब निर्माण हुने घरहरु भूकम्प प्रतिरोधी तथा भवन निर्माणसम्बन्धी आचारसंहिता अनुसार बनाउनुपर्ने, भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि आवश्यक पर्ने ढुंंगा, बालुवा, गिठ्ठी, काठ एक पटकको लागि निःशुल्क उपलब्ध गराउन माग गरेको छ ।
पार्टीका उपसंयोजक भोलाप्रसाद केसीले भूकम्पपीडितलाई त्रिपालमा मात्र लामो समयसम्म राख्न नमिल्ने अवस्था भएकाले तत्काल सुरक्षित आवास निर्माणमा ध्यान दिन आग्रह गरिएको बताए । यसका साथै भवन निर्माणमा चाहिने सामग्रीहरु बजारमा अभाव हुने र महंगी हुने भएकाले निरन्तर बजार अनुगमन गर्न समेत माग गरिएको छ ।
रास्वपाले बिद्यालयका भौतिक संरचनाहरु क्षतिग्रष्त भएकाले अस्थायी सिकाइ केन्द्र बनाएर बालबालिकाको पठनपाठनमा सहज बनाउन पनि ध्यानाकर्षण गराएको छ।