चरिकोट। थामी जातिको उत्पतिका रुपमा रहेको दोलखाको भीमेश्वर नगरपालिका १ सुस्पाक्षमावती राङराङथलीमा थामी सङ्ग्रहालय निर्माण हुने भएको छ। नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काका अनुसार नेपाल सरकार संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयबाट बजेटको सुनिश्चितता भएपछि सङ्ग्रहालय निर्माण हुन लागेको हो।
सङ्ग्रहालय निर्माणका लागी मन्त्रालयबाट ६ करोड ८९ लाख रुपियाँको बजेट सुनिश्चित भएको उहाँले जानकारी दिनुभयो। चार करोड ४७ लाख ६५ हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ। जिल्लाका आदिवासीका रुपमा रहेका थामी समुदायको संस्कृति संरक्षण एवं सवद्र्धनका लागी सङ्ग्रहालय निर्माण हुन लागेको हो।
करिब १० रोपनी जग्गामा फैलिएको उक्त सङ्ग्रहालयमा एउटा थामी म्युजियम भवन, अर्कोमा तालिम सभा कक्ष, क्यान्टिन भवन निर्माण हुने छन्। उक्त सङ्ग्रहालयमा शौचालय, सुरक्षा गार्ड भवन, संरक्षण पर्खाल र प्रवेशद्धार निर्माण हुने इन्जिनियर गौरव बस्नेतले जानकारी दिए।