काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ। दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्वमा काठमाडौंमा आजदेखि इफाप्का सम्मेलन सुरु भएको हो।
सम्मेलन आज मंसिर ५ गतेदेखि मंसिर ९ गतेसम्म चल्नेछ। आज डेलिगेट्सहरुको आगमन हुनेछ। रजिष्ट्रेशन कार्य पनि हुनेछ। सबै आउने डेलिगेट्सहरुलाई एयरपोर्टमा स्वागत गरिने छ। आज नै फाइनान्स कमिटी मिटिङ, प्रेसिडेन्सियल कनक्लेभ र एक्जिक्यूटिभ बोर्ड मिटिङ पनि आयोजना गरिनेछ ।
सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट भोलि मंसिर ६ गते हुने महासंघले जनाएको छ।
इफाप्का फोरमको उद्घाटन भने प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुनेछ । सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ। सम्मेलनमा सहभागी हुनका लागि विदेशी प्रतिनिधिहरू काठमाडौं आउने क्रम केही दिन अघिदेखि नै शुरु भइसकेको महासंघले जनाएको छ।