ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङस्थित बाल्देन माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न गरिएको छ। विद्यालयको एकैपटक दुईवटा पक्की भवन निर्माण सम्पन्न गरिएको हो।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चार कोठे र ह्युमन प्राक्टिस फाउण्डेसन (एचपीएफ) नामक संस्थाको आर्थिक सहयोगमा आठ कोठे भवन निर्माण गरिएको हो।
जिल्लाकै दुर्गम भेगअन्तर्गत पर्ने पापुङको एकमात्र बाल्देन माध्यमिक विद्यालयको सरकारी तथा गैरसरकारी बजेट लगानीबाट एकैपटक दुईवटा पक्की भवन बनेका हुन् । मिक्वाखोला गाउँपालिकाका अनुसार सङ्घीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत आएको ३६ लाख र गाउँपालिकाको थप १० लाखसमेत गरी ४६ लाख रुपियाँको लागतमा चार कोठे भवन निर्माण गरिएको हो।
यस्तै, एचपीएफको आर्थिक सहयोग ८३ लाख र गाउँपालिकाको थप रकम २० लाख रुपियाँ गरी कुल एक करोड तीन लाख रुपियाँको लागतमा आठ कोठे विद्यालय भवन निर्माण भएको गाउँपालिकाले जनाएको छ।