काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले हरेक मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
बुधबार बिहान हायात होटलमा आयोजित सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘कुनै पनि मुलुकको आर्थिक विकासमा भौतिक पूर्वाधारले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। भौतिक पूर्वाधारको क्षेत्रमा लागेकाहरूले प्राकृतिक विपत्तिसँग जुध्नका लागि विशेष सर्तकता अपनाउनु जरुरी छ।’
उनले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्नेहरूले विशेष सर्तकता अपनाउन जरुरी रहेको समेत बताए।
राष्ट्रपति पौडेलले भने, ‘पृथ्वी रहे मात्र हामी रहन्छौं भन्ने मान्यतालाई आत्मसात गर्दै प्रकृतिमैत्री दिगो पूर्वाधार निर्माणका इफाप्कामा आबद्ध मुलुकहरू बढी मात्रामा जलवायु परिवर्तनसँगै प्राकृतिक विपत्तिको सिकार भइरहेको परिप्रेक्ष्यमा यस संगठनले जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिकताका साथ उठान गर्नुपर्ने आवश्यकता मैले देखेको छु।’
हालै नेपालको भ्रमण गरेका संयुक्त राष्ट्रसंघका महासचिवले पनि जलवायु परिवर्तनको एजेण्डालाई उच्च महत्त्व दिएको प्रसंग स्मरण गराउर्दै उनले कार्बन उत्सर्जनमा कटौती गरी प्रकृति सुहाउँदो पूर्वाधार निर्माणमा जुट्न सबैलाई आग्रह गरे।