काठमाडौं। एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १९ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनका अध्यक्ष रवि सिंहले वैदेशिक लगानीको लागि नेपाल ‘भर्जिन ल्यान्ड’ भएको बताएका छन्।
सम्मेलनको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष समेत रहेका सिंहले नेपाल पूर्वाधार क्षेत्रमा लगानी गर्नका लागि ठूलाे सम्भावना बोकेको मुलुक भएको समेत बताए।
सिंहले विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्त्वपूर्ण रहेको बताए। जलवायु परिवर्तनको मुद्दा जोडदारसँग उठाउन र बाह्य पर्यटनको विस्तारका लागि समेत यो सम्मेलन फलदायी हुने उनको भनाइ छ।