काठमाडौं। एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्काको ४६ औं अन्तर्राष्ट्रिय सम्मेलन अन्तर्गत ‘पार्टनरिङ इन सस्टेनेवल इन्फास्टक्चर’ फोरमको उद्घाटन गरिएको छ। बिहीबार बिहान हायात होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले इफाप्का फोरमको उद्घाटन गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डले पानसमा बत्ती बालेर फोरमको उद्घाटन गरेका हुन्। फोरमको उद्घाटन पश्चात आज नै गोकर्ण गल्फ मैदानमा एफक्यान—इफाप्का गल्फ प्रतियोगिता समेत गरिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ।
दिगो पूर्वाधारमा साझेदारी भन्ने नारा सहित काठमाडाैंमा यही मंसिर ५ गतेदेखि शुरु भएको सम्मलेन ९ गतेसम्म चल्नेछ । सम्मेलनको उद्घाटन बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए।
सम्मेलनमा विदेशका २ सय ४२ सहित ५ सय भन्दा बढीको सहभागिता रहेको छ। हाल समग्र विश्व नै आर्थिक मन्दीबाट गुज्रिरहेको र त्यसबाट नेपाल पनि अछुतो नरहेको वर्तमान अवस्थामा मुलुकको भौतिक पूर्वाधारको विकासमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन ४६ औं इफाप्का सम्मेलन महत्वपूर्ण हुने महासंघले जनाएको छ।