काठमाडौं। ललितपुर महानगरपालिकाले आधुनिक प्रविधि जडानयुक्त दुई वटा दमकल सञ्चालनमा ल्याएको छ । महानगरले बुधबार महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले दमकल सञ्चालनको शुभारम्भ गरेका हुन्।
याे दमकलले आगलागीका बेला करिब १२० मिटर टाढा र २० तलाको उचाइसम्म पनि पानीको फोहोरा हान्न सक्ने छ।
आगलागी नियन्त्रण गर्न महानगरको प्राङ्गणमा बुधबार दमकलद्वारा नमुना प्रदर्शन गरिएको छ। महानगर प्रम्रख महर्जनले प्रदर्शनको अवलोकन गरी शुभारम्भ समेत गरेका हुन्।
जापानी कम्पनीका उक्त दमकल पाँच करोड ६५ लाख रुपैयाँमा महानगरपालिकाले खरिद गरेको महानगरले जनाएकाे छ।
प्रमुख महर्जनले शुभारम्भ कार्यक्रममा महानगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने सूचकमध्ये प्रविधियुक्त दमकल पनि एउटा सूचक भएको बताए। उनले धुवाँमा पनि देखिने लाइट जडानयुक्त, अरू दमकलभन्दा छोटो भएकाले साँघुरो स्थानमा सहजै जान सक्ने गरी दमकलमा प्रविधि जडान गरिएको जानकारी दिए। पेट्रोल पम्प र केमिकल कारखानामा आगलागी भयो भने पनि उक्त दमकलले आगो नियन्त्रण गर्न सक्ने महानगरपालिकाको दाबी छ ।