काठमाडौं। बन्दीपुरमा १७ तल्लाको ‘क्विन टावर’ नाउँ दिइएको पाँचतारे होटल निर्माण कार्य अन्तिम चरणमा रहेको छ । ‘हिलटप नाम दिइएको उक्त होटलमा करिब ९० वटा कोठा रहेको र तीमध्ये ७८ वटा कोठा बस्नका लागि प्रयोगमा ल्याइनेछ । एक हजारभन्दा बढी क्षमताको ठूलो सभा हललगायत निर्माण भइरहेको छ । होटलको सुरु तल्लाबाट १७ तल्लासम्म क्यापसुल लिफ्टबाट सिधै ‘क्विन टावर’ सम्म जान सकिने व्यवस्था रहेको बन्दीपुर केबुलकार एन्ड टुरिजमले जनाएको छ।
बन्दीपुर केबुलकार र पाँचतारे होटल सञ्चालनमा आएपछि बन्दीपुरको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा सो ठाउँका व्यवसायीहरुको रहेको छ । बन्दीपुर आउने पर्यटकले केबुलकारमा सुतेरै रमणीय प्राकृतिक स्थलको अवलोकन गर्दै भरपुर मनोरञ्जन दिने कम्पनीको मुख्य लक्ष्य रहेको छ ।
केबुलकार र पाँचतारे होटलको प्रचारपसारसँगै आन्तरिक एवं बाह्य पर्यटकको चलहपहलमा वृद्वि हुने बन्दीपुर पर्यटन विकास समितिले बताएको छ। आर्थिक मन्दीका कारण निराश बनेका होटल व्यवसायीहरु केबुलकार र होटल सञ्चालनमा आउने भएपछि उत्साहित भएका छन् ।
तल्लो स्टेसनको भवन अन्य केबुलकारको भन्दा फरक किसिमको टर्मिनल भवन रहेको छ । सोही भवनमा अति विशिष्ट कक्ष, खुल्ला रेष्टुरेन्ट (टुरिष्ट कोच), अतिथि स्वागत गर्नेलगायत कार्य एउटै भवनबाट हुनेछ ।