काठमाडौं। नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको जीर्ण भवन भत्काइने भएको छ। महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भन्दै भवन भत्काउन प्राविधिक प्रतिवेदनका आधारमा मेयर बालेन शाहसमक्ष सिफारिस गरेको हो।
जीर्ण भवन भत्काएर सम्भावित जनधनको क्षति रोक्न स्थानीय ३२ जनाले हस्ताक्षर गरेर १९ कात्तिकमा वडामा निवेदन बुझाएका थिए ।
निवेदन वडाबाट प्रमुख, प्रमुखबाट प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतबाट सहरी व्यवस्थापन विभागमा पुगेको थियो । सोही अनुसार विभागले भवनको अवस्थालाई प्राविधिक अध्ययन गर्न इञ्जिनियर जीवन रेग्मी, आर्किटेक्ट इञ्जिनियर अमित बज्राचार्य र आर्किटेक्ट इञ्जिनियर गौरव श्रेष्ठ रहेको ३ सदस्यीय समिति गठन गरेर जिम्मेवारी दियो । यो समितिले ४ मंसिरमा प्रतिवेदन दिएको छ ।
प्रतिवेदनमा २०७२ सालको भूकम्पपछि भवनको बाहिरी र भित्री गाह्रो चर्किएर ढल्किएकोले थप क्षति हुन नदिन टेको लगाएर अड्याइएको जनाएको छ ।
प्रतिवेदनमा भवन कुनै पनि समयमा भत्किन सक्ने र जनधनको क्षति हुन सक्ने हुँदा जीर्ण भवनको तत्काल व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ।
जग्गा अनुसार त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो ।