काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् । राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्र्तगत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उनले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
आपसी सहकार्यबाटै आर्थिक समुन्नती सहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लय हासिल गर्न सकिने प्रधानमन्त्री दाहालले बताए । नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले विकास निर्माणको काम पनि सोही अनुसार गर्न सम्बन्धित् निकायको ध्यानाकर्षण गराए।
एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पारे । इफाप्का आबद्ध मुलुकमा दिगो विकास बारेमा जनचेतना जगाउन इफाप्काले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री दाहालले प्रशंसा गरे । फोरम उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दिगो विकासका लागि सरोकारवाला सबै निकायबीचको समन्वय आवश्यक भएको धारणा राखे।