काठमाडौं। आजबाट मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले सर्वसाधरणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पुँजी ७० करोडको २० प्रतिशतले हुन आउने १४ करोड बराबरको १४ लाख कित्ता साधारण सेयर आजबाट सर्वसाधरणमा निष्काशन गरेको हो।
उक्त सेयर मध्य कम्पनीले ३ प्रतिशतले हुन आउने ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि छुट्याएको छ। ५ प्रतिशतले हुन आउने ७० हजार कित्ता सेयर सामुहिक लगानी कोषहरुका लागि बिक्री गरिनेछ। १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर कम्पनीले श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा बिक्री गरिसकेको छ।
बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने व्यवस्था छ। सर्वसाधारणले प्रति कित्ता १०० रुपैयाँका दरले सो सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।
कम्पनीको सेयरमा आजबाट १२ गतेसम्म आवेदन दिन पाइन्छ। सो समयसम्म लगानीकर्ताहरुबाट पर्याप्त आवेदन नपरे कम्पनीले मंसिर २२ गते सम्मका लागि समय थप गर्नेछ।