काठमाडौं। तनहुँ जिल्लाको दमौलीमा ६५ करोड लगानीमा सुविधा सम्पन्न एपेक्स मल संचालनमा आएको छ। केही समय अघि सम्राट सिमेन्टबाट छुट्टिएका मुकुन्द तिमिल्सिना र नारायणगढका सुमन श्रेष्ठको लगानीमा उक्त मल संचालनमा आएको हो।
मलका संचालक तिमिल्सिनाका अनुसार तनहुँ, मुग्लिन, लमजुङ लगायतका आसपासको क्षेत्रको बजार हेरेर सुविधा सम्पन्न मल संचालनमा ल्याएको हो। व्यवसायिक अध्ययन गरेर चार वर्ष अघि मल निर्माण सुरु गरेको र केही महिना अघिबाट संचालनमा आएको उनले जानकारी दिए।
तीन वटा जिल्लाको हबको रुपमा दमौलीमा सुविधा सम्पन्न मल चल्ने देखेर ठूलो लगानी गरेकाो पनि उनले बताए। दमौली लगायतका क्षेत्रमा सिनेमा हल नभएका कारण यस मलमा दुइवटा क्युएफएक्स सिनेमा हल समेत बनाएको उनले जानकारी दिए।
यो क्षेत्रमा भारतीय र ब्रिटिस लाहुरेहरुको प्रभुत्व समेत रहेकाले मल चल्न समस्या नहुने उनको भनाइ छ। मलमा अन्डरग्राउड पार्किङ सुविधा छ। उनका अनुसार मल्टिकुजिन रेष्टुरेन्ट, फूड स्टल, बच्चाबच्ची खेल्ने ठाउँ, एटीएम लाउन्ज आदि रहेको मल पूर्ण वातानुकुलित र निःशुल्क इन्टरनेट सुविधा समेत रहेको छ।
उनले मलमा रहेको लिफ्ट र एलिभेटर चढ्नकै लागि समेत ग्रामीण भेगबाट स्थानीय बासिन्दा आउने गरेको बताए।