काठमाडौं। भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री निवासका भवनहरु निर्माणको काम रोकिएको छ। अन्तिम चरणमा पुगेको निर्माण कार्य स्थानीयले सडकको मुद्दा उठाएपछि रोकिएको हो।
निर्माणस्थलदेखि पश्चिमतर्फका स्थानीयले मन्त्री निवासको पर्खाल लगाउँदा ११ मिटरको सडक छोड्नुपर्ने माग गर्दै आएका थिए। तर स्थानीयको मागलाई वेवास्ता गर्दै आयोजनाले ८ मिटर मात्रै छोड्न सकिने अडान राख्दै आएको छ। यसै विषयलाई लिएर स्थानीयले विरोध गरेपछि अन्तिम चरणमा पुगेको मन्त्री निवासको निर्माण कार्य रोकिएको हो।
सरकारले ११ मिटरको सडक चाहिने भए ‘सेन्टर लाइन’ राखेर त्यसबाट दुवैतर्फ आयोजना र स्थानीयले जग्गा दिने सहमति गर्न आग्रह गरेको छ । तर त्यसमा पनि स्थानीयले नमानेपछि यतिबेला मन्त्री निवासलाई पक्की पर्खालले घेर्ने काम अलपत्र परेको छ ।
मन्त्री निवासको काम ६५ प्रतिशत सकिएको छ। स्थानीयले अवरोध नगरे बाँकी रङ लगाउने, झ्याल हाल्ने र फ्लोरिङ गर्ने ३५ प्रतिशत काम चाँडै सकिने आयोजनाले जनाएको छ।