पाल्पा। पाल्पाको रामपुर नगरपालिका–५ मा निर्माण भएको सहिद गेटको उद्घाटन गरिएको छ। १० वर्षे जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको सम्झनामा निर्माण गरिएको गेटको लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले समुद्घाटन गरेका हुन्।
आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेश सरकार मार्फत निर्माण भएको गेटको उद्घाटन गर्दै मन्त्री मास्कीले जनयुद्ध र जनआन्दोलनका महान् सहिदहरूको बलिदान बाट नै मुलुक सङ्घीय गणतन्त्रसम्म आएको बताए।
व्यवस्था प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले भने, “सहिदको बलिदानी यो लोकतन्त्रमा छ । ७२ सालको नयाँ संविधानमा छ । र आज तपाई हामीले सुन्दर लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । समाजवादको यात्रामा अघि बढिरहेका छौँ ।” उनले रामपुर अस्पताललाई व्यवस्थित गर्दै स्तरीय सेवा प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध भएर लागेको समेत जानकारी दिए।