काठमाडौं। सरकारले आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा लगानी सम्मेलन गर्ने गरी सरकारले तयारी सुरु गरेको हो।
लगानी सम्मेलनका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति छ । उक्त निर्देशक समितिको पहिलो बैठक आइतबार बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा महतले लगानी सम्मेलन आयोजना हुनेबारे जानकारी दिए ।
अर्थमन्त्री महतले भने, ‘लगानी सम्मेलनका लागि तयारी थालिएको छ । यो लगानी सम्मेलनमा विदेशी लगानीको मात्र कुरा होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ।’
लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ ।