काठमाडौं। काठमाडौंमा पैदल यात्री आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि जडान गरिएको छ। बबरमहलस्थित जिल्ला अदालत अगाडिको सडकमा सोमबार पैदल यात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको क्रसिङ राखिएको हो।
‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट १० लाख लागतमा जडान गरिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदल यात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने जनाएको छ । प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने समेत ट्राफिक कार्यालयले जनाएको छ।
लाइट जडानपछि बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण नहुने बताए । उनले यसका लागि जनप्रतिनिधिहरूले अन्डर पास वे बाटो बनाउने तयारी गरिरहेको समेत जानकारी दिए।
उनले भने, ‘ट्राफिक लाइट अहिले अल्पकालीन रूपमा जेब्रा ट्राफिक लाइटले राम्रै हुने विश्वास लिएको छु । दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण रहँदैन । आगामी वर्षमा यसलाई अन्डर पास वे बाटोको जुन रूपमा जेब्रा क्रसिङ राख्न सकिन्छ ।’