काठमाडौं। सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ कायम भएको छ । बुक बिल्डिङ विधिमार्फत पहिलो पटक खुलेको सर्वोत्तमको सेयर संस्थाहरुलाई बाँडफाँटका क्रममा कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएको हो ।
कम्पनीको मूल्यमा न्यूनतम ४०१ रुपैयाँदेखि अधिकतम ४०६ रुपैयाँसम्मको मूल्यमा सेयर माग गर्दै संस्थाहरुले आवेदन दिएका थिए । कुल ४१ वटा संस्थाले ३६ लाख बढी कित्ता सेयर माग गरेका थिए ।
संस्थाहरुलाई कटअफ मूल्य ४०१ रुपैयाँ कायम भएसँगै सर्वसाधारणलाई कम्पनीको मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ पर्ने भएको छ । बुकबिल्डिङ निर्देशिकाअनुसार संस्थालाई ‘कटअफ’ मूल्य निर्धारण भइसकेपछि सोको १० प्रतिशत मूल्य घटाएर मात्रै सर्वसाधारणलाई सेयर जारी हुनेछ ।
कम्पनीको सेयरका लागि संस्थाहरुलाई न्यूनतम मूल्य प्रतिकित्ता ४०१ रुपैयाँदेखि अधिकतम ६०१ रुपैयाँ ५० पैसाको रेञ्ज प्रदान गरिएको थियो । तर अधिकांश संस्थाहरुले न्यूनतम मूल्यमै बोलपत्रमार्फत प्रस्ताव गरेका छन् ।