मोरङ। विराटनगरमा आगामी पुष पहिलो साता मोरङ व्यापार संघ एक्स्पो हुने भएको छ। मोरङ व्यापार संघले पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुष ६ देखि १६ गतेसम्म मोरङ व्यापार संघ एक्स्पो हुने जानकारी दिएको हो।
एक्स्पोमा २५० वटा स्टल रहने जानकारी संघका अध्यक्ष नवीन रिजालले दिए। नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त कोशी प्रदेशका महत्त्व झल्किने कला, संस्कृति र कृषिजन्य उत्पादन पनि प्रदर्शनी गरिने छ।
एक्स्पोमा कृषि तथा घरेलु साना उद्योगलाई १० वटा स्टल निःशुल्क उपलब्ध गराइने संघले जनाएको छ। मनोरञ्जनका लागि नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार, ६० फिट अग्लो टावर र किड्स जोन निर्माण गरिनेछ ।
अध्यक्ष रिजालले एक्स्पोले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराइ कोशी प्रदेशमा औद्योगिक–व्यापारिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।