कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ मझगाउँमा राम जानकी मन्दिर निर्माण गर्न एक करोड बढीको जग्गा दानमा प्राप्त भएको छ। मन्दिर निर्माणका लागि नेपाल प्रहरीका पूर्व एआईजीपी दिपेन्द्र विष्ट र स्थानीय शमशेर ठुकराठीले संयुक्त रुपमा एक करोडभन्दा बढी मूल्य बराबरको ७ कठ्ठा जग्गा दान गरेका हुन्।
मन्दिर निर्माणका लागि अमेरिकामा रहेका व्यक्तिले पनि आर्थिक सहयोग गरेका छन् । कैलाली र कञ्चनपुरमा घर भई हाल अमेरिकामा बसोबास गर्नेहरुले ४ लाख बढी सहयोग गरेका छन् ।
शुक्लाफाँटा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष पुस्करबहादुर सिंहको पहलमा उक्त रकम संकलन भएको हो । संकलित रहम सोमबार मन्दिर निर्माण समितिका अध्यक्ष समेत रहेका विष्टलाई हस्तान्तरण गरिएको छ ।
यसैगरी मन्दिर निर्माणका लागि सहयोग गर्नेहरुलाई सोमबार सम्मान गरिएको छ । उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
यहाँ मन्दिरसँगै सार्वजनिक बहुउद्देश्यीय सभाहल, ज्येष्ठ नागरिक विश्राम स्थल, ज्ञानवृद्धि पुस्तकालय, ध्यानयोग तथा साधना केन्द्र, लागू औषध दुर्व्यसनी सुधार कक्ष, विवाह मण्डप र बाल उद्यान निर्माण गरिने छ।