नवलपरासी। नवलपरासीको लुम्बिनी चिनी मिलको प्रदूषण रोक्न माग गर्दै स्थानीयले आन्दोलन सुरु गरेका छन्। सुनवल नगरपालिकामा सञ्चालित चिनी मिलको बढ्दो प्रदूषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण संघर्ष समिति गठन गरेका हुन्।
मिल सञ्चालकले उद्योगबाट निस्किने धुँवा, खरानी र फोहोर पानी न्युनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिहेको संघर्ष समितिले जनाएको छ। मिलले प्रदूषण न्युनीकरण नगरे मिल चलाउन नदिने समेत समितिको चेतावनी छ।
चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने दुषित फोहोर पानीले सुनवल बजार नै दुर्गन्धित भई मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर गरिरहेको स्थानीयको गुनासो छ।