काठमाडौं। सरकारले निर्माण व्यवसायीको बाँकी बक्यौता भुक्तानी गर्न सुरु गरेको छ। सरकारले गत आर्थिक वर्षमा काम सम्पन्न भएका आयोजनाको बाँकी रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न सुरु गरेको हो।
सरकारले दशैंपछि अहिलेसम्म तीन अर्ब बराबर रकम भुक्तानी गरिसकेको छ। निर्माण व्यवसायीले रकम भुक्तानी नभएसम्म काम नगर्ने अडानसहित काम रोकेर आन्दोलनमा भित्रिएपछि सरकारले बाँकी रकम भुक्तानी गर्ने जनाएको थियो। सोही बमोजिम सरकारले रकमान्तर गरेर भुक्तानी प्रक्रियालाई निरन्तरता दिँदै आएको जनाएको छ।
बाँकी भुक्तानी रकम सरकारले दशैंअघि नै उपलब्ध गराउने जनाएपछि अझै पुरै रकम उपलब्ध नगराएको निर्माण व्यवसायीले गुनासो गरेका छन्।
नेपाल निर्माण व्यवसायी महासङ्घका अनुसार अझै चार अर्ब रकम सरकारले भुक्तानी गर्न बाँकी रहेको छ। निर्माण व्यवसायीले आयोजनाको काम ठप्प पारेर आन्दोलन गर्न थालेपछि सरकारले सम्झौता गरेर भुक्तानी दिने सहमति गरेको थियो।
करिब तीन अर्ब रकम भुक्तानी भए पनि बिल बनेकोमध्ये चार अर्ब रकम अझै भुक्तानी हुन बाँकी रहेको महासंघले जनाएको छ।