काठमाडौं। उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन्।
युएईको दुबइमा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका अवसरमा आयोजित ‘नेपाल युएई बिजनेस फोरम’ लाई बिहीबार साँझ सम्बोधन गर्दै अध्यक्ष ढकालले युएईका लगानीकर्तालाई नेपालमा लगानीका अवसरहरुबाट लाभ लिएर लगानी बढाउन आग्रह गरेका हुन्।
उनले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र लगानीको वातावरण पनि बनेकाले नेपालमा लगानी भनेका हुन्। अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्तालाई नयाँ अवसरहरू सिर्जना भएको र नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेकाले नेपालमा लगानी गरेर लाभ लिन उनीहरुलाई आग्रह गरेको महासंघले जनाएको छ।
अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताए । आफ्नै आन्तरिक बजार तथा भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युत्मा गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गरे।
उजले थप पर्यटकलाई स्वागत गर्न नेपालमा नयाँ अन्तरराष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले ‘लक्जरी’ होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि बताए।