काठमाडौं। नवलपुरमा निर्माणाधीन दुम्कीबास त्रिवेणी सडक, हुलाकी राजमार्ग र पूर्व–पश्चिम राजमार्गको काम तीव्रगतिमा अघि बढाउन अनुरोध गरिएको छ।
चुरे क्षेत्र अन्तर्गत पर्ने नदीजन्य पदार्थ उत्खनन्को आवश्यक सहजीकरणका लागि जिल्लाका विभिन्न स्थानीय तहका नगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष एव प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधिको संयुक्त छलफल कार्यक्रममा नवलपुरका स्थानीय तहका जनप्रतिनिधिले उक्त तीन वटा सडकको काम तीव्र गतिमा अघि बढाउन अनुरोध गरेका हुन्।
छलफल कार्यक्रममा स्थानीय विकास निर्माण, विपद् व्यवस्थापन, आन्तरिक स्रोत वृद्धिलगायत कार्यक्रममा अवरोध भएको भन्दै नवलपुरका जनप्रतिनिधिले राष्ट्रपति चुरे–तराई –मधेश संरक्षण कार्यक्रम हटाउन समेत माग गरेका छन्।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले प्राकृतिक स्रोतको समुचित प्रयोग गर्नुपर्ने बताए। उनले चुरे क्षेत्र हटाउनु मात्र समस्या समाधानको उपाय नभएको भन्दै स्थानीय तहले जोखिमयुक्त खोला र बस्तीको पहिचान गरी मापदण्डअनुसार उत्खनन् गर्ने हो भने समस्या नहुने उल्लेख गरे।