काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् ।
शुक्रबार राष्ट्रपतिले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न निर्देशन दिएका हुन्।
उनले चुरे विनाशले निम्त्याउने सङ्कटप्रति चिन्ता समेत व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताए।
उनले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुङ्गा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुङ्गा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत योजना बनाएर तदारुकताका साथ काम गर्नुपर्नेमा जोड दिए।