रुपन्देही। रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो।
बसले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छन् । घाइतेको भैरहवामा उपचार भइरहेको छ ।
दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले मोटरसाइकलमा ठक्कर दिने बसमा अगजनी गरेका छन्।