राजविराज। सप्तरी युथ नेपाल राजविराजले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुरु गर्न दबाबमुलक आन्दोलन थालेको छ। सत्येन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति नै बनाएर युवाहरुले आन्दोलन सुरु गरेका हुन्।
उनीहरुले बिहीबार प्रशासन अगाडि एक घण्टा धर्ना दिएका थिए भने शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिएका छन् । ।
संघर्ष समितिका संयोजक यादवले भने, ‘सप्तरी र अन्य जिल्लाको आर्थिक, समाजिक र शैक्षिकलगायत बृहत् हितसँग जोडिएको प्रतिष्ठानको कामकाज अविलम्ब चालु गर्नुपर्ने, पूर्वाधार तयारी विकास समितिको म्याद थप गर्नुपर्ने, विकास समितिमा अध्यक्ष लगायतका पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने, बजेट व्यवस्थापन गर्नुपर्नेलगायत मागसहित हामीले आन्दोलन सुरु गरेका हौं।’
सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले प्रतिष्ठान निर्माणमा कुनै राजनैतिक दाउपेच लगाएर ओझेलमा पार्नु न्यायसंगत नहुने बताए । उनले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने चेतावनी दिए ।