धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका–६ का वडाअध्यक्ष देबेन्द्र गुरागाईको घरमा आगजनी गरिएको छ। राति घरको माथिल्लो तलामा सुत्न गएपछि भुईँ तलाबाट माथिल्लो तला जाने ढिकमा मुनिबाट ताला लगाई तल्लो तलामा रहेको लुगा जम्मा गरेर अज्ञात समूहले आगो लगाएको गुरागाईंले बताए।
सुतिरहेको समयमा लुगा डढेको गन्ध आएपछि उठेर हेर्न खोज्दा ढिकमा चाबी लगाएको थाहा पाएर छिमेकीलाई बोलाएर चाबी तोडेर हेर्दा लुगा एक ठाउँमा राखेर आगो लगाइएको नजिकै ग्याँसको सिलिन्डर राखेको पाइएको उनले बताए।
कसले आगजनी गरेको हो भन्ने कुराको पहिचान हुन नसकेको र सो बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । आगलागीबाट लुगाकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।