सिरहा। नेपाली कांग्रेस सिरहाले चुरे क्षेत्रबाट हुने अवैध गिट्टी, बालुवा उत्खनन तथा वन फडानी कार्य रोक्न माग गरेको छ।
कांग्रेस जिल्ला समितिले मङ्गलबार पत्रकार सम्मेलन गरेर कानुनविपरीत स्थानीय तह र प्रहरी प्रशासनसमेतको मिलेमतोमा खुलेआम तस्करी भइरहेको आरोप लगाएको हो ।
जिल्लामा हुने गरेका अवैध गतिविधि तत्काल नियन्त्रण नगरिए आन्दोलन गर्ने कांग्रेस जिल्ला समिति सभापति रामचन्द्र यादवले चेतावनी समेत दिएका छन्।
उनले भने, “नेपाल–भारत खुला सिमानाबाट सङ्गठितरूपमा तस्करी हुने गरेको छ, चुरेको दोहन रोकिएको छैन। अवैध गतिविधिलाई नियन्त्रण गर्न हामी सरकारसँग माग गर्दछौ।”
त्यसैगरी सिरहा कांग्रेसले धान, सागसब्जी तथा फलफूलको उचित मूल्य निर्धारण गरी बजारीकरण गर्न, समयमै मलखाद तथा बीउबिजन उपलब्ध गराउन माग गरेको छ ।