काठमाडौं। नेपालको जलविद्युत क्षेत्रको दीगो विकासका लागि विश्व बैंक र एशियाली विकास बैंक (एडिबी) सहकार्य गर्ने घोषणा गरेका छन् । विशेषगरी प्रस्तावित माथिल्लो अरुण र दुधकोशी जलविद्युत आयोजना निर्माणको सन्दर्भमा सहकार्य घोषणा गरेका हुन् ।
बुधबार विश्व बैंक र एडिबी दुवैले थालनीमा ५ वर्षको लागि सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । युनाइटेड अरव इमिरेट्स (युएइ)मा भइरहेको कोप २८ सम्मेलनको साइडलाइनमा रहेर दुवै बैंकका प्रतिनिधीले समझादारी पत्रमा हस्ताक्षर गरे । विश्व बैंकको तर्फबाट दक्षिण एशिया अध्यक्ष मार्थिन रेजर र एडिबीको तर्फबाट ऊर्जा क्षेत्र हेर्ने उपाध्यक्ष फतिमा यास्मिनले हस्ताक्षर गरे ।
समझादारी पत्रमा हस्ताक्षरपछि विश्व बैंक, दक्षिण एशिया अध्यक्ष मार्थिन रेजरले सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको सहकार्य नभइ नेपालसँग भएको ऊर्जाको प्रचुर सम्भावनालाई विकास गर्न नसकिने बताए । ‘एडिबी र विश्व बैंकबीच भएको समझादारीले सहकार्य गर्नको आधारस्तम्भ तयार भएको छ । यसले ऊर्जा क्षेत्रको विकासको लागि आवश्यक वित्त र नीतिगत सुझाव दिनुको साथै आउने दशकको लागिसमेत नेपालको हरित, दीगो र सहभागितामूलक विकासमा सहयोग पुग्नेछ’ उनले भने ।