कास्की। पोखरामा ३२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालित पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने बताए। उनले भने, ‘पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन कार्यदल बनेको छ, त्यसको प्रतिवेदन आइसकेपछि आवश्यक पूर्वाधार तयारीमा हामी लाग्छौँ। पोखरा देशकै पर्यटनको केन्द्रका रूपमा स्थापित हुनेछ, सबै पक्षको साथ सहयोग रह्यो भनेमात्र हामी यसमा सफल हुन्छौँ।’
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले मेला महोत्सवले आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे।
मेलामा ९० लाख आम्दानी हुने र ८० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। मेलाबाट बचत भएको पैसा उद्यमशीलता प्रवर्द्धन र व्यवसायीहरूको क्षमता विकासमा खर्च गरिने जनाइएको छ।