काठमाडौं। जलवायु परिवर्तनसँगै वायु प्रदूषणको विनाशकारी चक्र र सहरी केन्द्रमा यसको जोखिमको प्रभाव कम गर्न काठमाडौं महानगरपालिकासहित विश्वका ८ ठूला सहरका प्रमुखले संयुक्त रुपमा प्रतिबद्धता जनाएका छन् ।
राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन चलिरहँदा स्वस्थ सहरका लागि साझेदारीको विश्व सञ्जालमा आबद्ध सहरका प्रमुखले प्रतिबद्धता जनाएका हुन् ।
प्रतिबद्धता जनाउने मुलुकमा नेपालको काठमाडौं महानगरपालिका, अमेरिकाको शिकागो, बङ्गलादेशको ढाकालगायत रहेका छन् । यूएईमा संयुक्त ८ देशका प्रमुखले सार्वजनिक गरेको संयुक्त प्रतिबद्धता पत्रमा विश्वभरका सहरलाई वायु अनुगमनका प्रभावकारी कार्यक्रम अपनाउन नागरिकको जीवन सुधार गर्न सार्वजनिक स्वास्थ्य कार्य प्रवर्द्धन गर्न आह्वान गरिएको छ ।
कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले वायु गुणस्तर अनुगमन सञ्जाललाई सुदृढ गरेर भरपर्दो नीतिसहित विद्यमान वायु प्रदूषण न्यूनीकरण गर्ने नीति रहेको बताए ।