काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताएका छन्। पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत पोखरा महानगरपालिका–२७ तालचोकमा आयोजित भेटघाट तथा संवाद कार्यक्रममा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एमालेले मात्रै पूरा गर्न सक्ने दाबी गरेका हुन्।
अध्यक्ष ओलीले अहिले एमाले ‘मिसन–८४’अन्तर्गत आगामी निर्वाचनबाट एकल बहुमत ल्याउने गरी अघि बढेको बताए। उनले एमाले साधारण प्रतिपक्ष नभई इतिहास रच्दै सङ्घर्षको मैदानबाट खारिएर आएको सबैभन्दा लोकप्रिय पार्टी भएकाले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए।
उनले भने, “देशलाई सकारात्मक दिशामा फर्काउन हामी सचेत, सङ्गठित र आन्दोलित हुनुपर्ने आवश्यकता छ, राजनीति मात्र नभएर विकास निर्माण र जनजीविकाका सवालमा पनि एमालेले नेतृत्व गर्छ। पार्टी पङ्क्ति जनताका बीचमा जाने, जनताको समस्या, गुनासा सुन्ने र समाधानका लागि पहल लिने उद्देश्यले समृद्धिका लागि सङ्कल्प यात्राको आयोजना गरिएको हो।”