काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल बिजुली बिक्रीबाट आम्दानी गर्ने अवस्थामा पुगेको बताएका छन् । समाजवादी मोर्चा नेपाल म्याग्दीले बेनीमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै ऊर्जामन्त्री बस्नेतले नेपाल बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुगेको बताएका हुन्।
उनले अबको दुई वर्षभित्र नेपालले बिजुली बिक्रीबाट आम्दानीमात्रै गर्ने र बिजुली खरिद गर्न नपर्ने अवस्था आउने बताए । नेपालबाट गत वर्ष रु १० अर्बको बिजुली बिक्री भएको र २० अर्बको खरिद भएको जानकारी दिँदै मन्त्री बस्नेतले यो वर्ष नेपालले बिजुली बिक्रीबाट आम्दानी गर्ने दाबी गरे।
उनले भने, ‘यो वर्ष हालसम्म रु १४ अर्बको विद्युत् बिक्री भइसकेको छ, जेठ र असारसम्म पुग्दा रु १८ अर्बसम्मको हामीले विद्युत् बिक्री गर्ने लक्ष्य राखेका छौँ, यो वर्ष नेपालले बाहिरबाट बढीमा रु १२ अर्बको मात्रै खरिद गरे पुग्छ, हामी यसै वर्षदेखि बिजुली बेचेर आम्दानी गर्ने अवस्थामा पुग्दैछौँ।’
म्याग्दीका सबै घरधुरीमा केन्द्रीय विद्युतीकरणको पहुँच पुर्याउन आवश्यक बजेट विनियोजन गरेर कार्यक्रम अघि बढेको जानकारी दिँदै मन्त्री बस्नेतले नेपाल अँध्यारोमुक्त बन्ने बाटोमा रहेको बताए ।