कास्की। पोखरामा नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् र ओसारपोमा संलग्न ५६ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नदीजन्य पदार्थ उत्खनन् गरी फर्जी बिल बनाई चोरी निकासी भएको सूचना आएपछि मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले ५६ सवारी साधनलाई नियन्त्रणमा लिएको हो।
बगरबाट २०, गगनगौंडाबाट १९, रामबजारबाट ८, बैदामबाट ५ र शिसुवाबाट ४ वटा ट्याक्टर तथा ट्रिपर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि महानगरपालिकामा पठाइएको थियो।
महानगरपालिकाले भने आवश्यक अध्ययन गर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको सवारी छाडिदिएको छ। कारबाहीका लागि बिल भरपाइ आन्तरिक राजस्व कार्यालयमा पठाउने पोखरा महानगरपालिकाका राजस्व प्रशासन शाखाले जनाएको छ।