काभ्रेपलाञ्चोक। तामाङ समुदायको उद्गमथलोका रुपमा परिचित काभ्रेपलाञ्चोकको तेमालमा अन्तर्राष्ट्रिय तामाङ सांस्कृतिक संग्रहालय निर्माण गरिने भएको छ। संग्रहालय निर्माण गर्नको लागि तेमाल गाउँपालिकाले सरोकारवालासँग छलफल सुरु गरेको हो।
तेमालमा सांस्कृतिक पर्यटन विकास गर्ने उद्देश्यले पालिका उपाध्यक्ष दलमान थोकरको नेतृत्वमा सङ्ग्रहालय निर्माण र यसको महत्वको विषयमा पहिलो चरणमा सांस्कृतिक विज्ञ, सामाजिक सङ्घरसंस्था र सञ्चारकर्मीसँग राय सुझाव लिने काम थालिएको हो।
तामाङ संस्कृति, धर्म, भाषा र कलाको विकास तेमालबाट भएको र यसको संरक्षण र विकासको लागि तेमालले सङ्ग्रहालय निर्माण गर्न आवश्यक प्रक्रिया थालनी गरेको गाउँपालिकाले जनाएको छ।