बुटवल। बुटवलको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम सुरु हुने भएको छ। मोतीपुर औद्योगिक क्षेत्रको नाममा रहेको कम विवादित २७० बिघा जग्गामा औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढाइने भएको हो।
मोतीपुर औद्योगिक क्षेत्रभित्र स्थानीय बासिन्दाको समेत जग्गा परेपछि विवादका कारण निर्माणको काम रोकिएको थियो ।
रुपन्देही उद्योग सङ्घले आइतबार बुटवलमा अयोजना गरेको मोतीपुर औद्योगिक क्षेत्रको निर्माण र सेज सञ्चालनको अवस्था विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले आफू नेतृत्वमा आएसँगै मोतीपुर औद्योगिक क्षेत्रको निर्माण, बन्द बुटवल धागो कारखाना सञ्चालन एवं जग्गाको प्रयोग तथा सेज र औद्योगिक क्षेत्रबिच मर्जरको कामलाई प्राथमिकतामा राखेको बताए।
सरकारले सञ्चालनमा ल्याएका सेज सञ्चालनमा कठिनाइ देखिएको हुँदा त्यसलाई औद्योगिक क्षेत्रसँग मर्जको प्रस्ताव अगाडि बढाएको र सेजमा देखिएका समस्या समाधान गरी उद्योगमैत्री वतावरण निर्माण गर्नेतर्फ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अगाडि बढेको अध्यक्ष पन्तले जानकारी गराए।
आफू उद्योगीसमेत भएका कारण उद्योगीको समस्यालाई छाडेर कुनै काम अगाडि नबढाउने प्रतिबद्धता जनाउँदै पन्तले उद्योगीका सुझाव र आवश्यकता अनुसार औद्योगिक विकासमा लाग्ने बताए ।
रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले मोतीपुर औद्योगिक क्षेत्रको निर्माणमा देखिएको अवरोध हटाएर निर्माणलाई प्राथमिकता दिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग अनुरोध गरे । उनले बु्टवल धागो कारखानाको व्यवस्थापन र भैरहवास्थित सेज सञ्चालनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिए।