काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ। बिहीबारदेखि विविधत् रुपमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको हो।
महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन्।
उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे। विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेको भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए।
निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए।