काठमाडौं। अपर तामाकोसी हाइड्रो पावर लिमिटेडको हकप्रद सेयर बाँडफाँट भएको छ । नागरिक लगानी कोषको निष्कासन बिक्री प्रबन्धक तथा सनराइज क्यापिटल लिमिटेडको सह–बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको कम्पनीको सेयर बाँडफाँट गरिएको हो ।
कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १ः१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता सेयर निष्कासन गरिएकोमा संस्थापक समूहबाट पूर्ण सेयरको लागि आवेदन परेको थियो ।
सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्कासन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता सेयर बाँडफाँट गरिएको छ । यस हिसाबमा सर्वसाधारण समूहतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता सेयर कम्पनीले लिलाम गर्ने छ । संस्थापक समूहतर्फ भने पुरै सेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन ।
संस्थापक सेयरधनीबाट हकप्रद वापत प्राप्त सम्पूर्ण रकमबाट कम्पनीले केहि अंश ऋण तिरिसकेको छ । हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला र ९९ मेगावाटको तामाकोसी–५ जलविद्युत् आयोजनाको निर्माणमा खर्च गरिने बताइएको छ ।
.