तनहुुँ। तनहुँको मादीनदी नियन्त्रणका लागि व्यास–५ पाटनमा एक सय दुई मिटर र व्यास–३ को भतेरीमा दुई सय ५८ मिटर लामो तटबन्ध निर्माण गरिएको छ। व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड ५० लाखको लागतमा तटबन्ध निर्माण गरिएको हो ।
तटबन्ध निर्माणपछि नदी प्रभावित क्षेत्रका बासिन्दा खुसी भएका छन् । व्यास–३ को भतेरीमा तटबन्ध निर्माण गरेपछि तनहुँ सदरमुकाम दमौली बजार पनि सुरक्षित भएको छ । यसअघि नदीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसको गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएको थियो ।
तटबन्ध निर्माणपछि पाटन क्षेत्रका छ सयभन्दा बढी परिवारले सुरक्षाको अनुभूति गर्न थालेका छन् ।
व्यास–६ शिशाघाटदेखि व्यास–५ पाटनसम्म करिब सोह्र किलोमिटर क्षेत्रमा समेत तटबन्ध निर्माण कार्य भइरहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ।