काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएको फोहोर व्यवस्थापन र खानेपानी समस्याको समाधानका लागि सरकारले गम्भीर रूपमा लिएको बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यसको दीर्घकालीन समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताएका हुन्।
उनले समस्या समाधानका लागि तीनै तहको सकारबिच सहकार्य आवश्यक भएको बताए ।
उनले भने, ‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ।’
विकास निर्माण, भौतिक पूर्वाधार विकास, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तहले खेलेको भूमिका सराहनीय भएको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य बिमा महानगरपालिकाले सुरुवात गरेकोमा पनि उनले खुसी व्यक्त गरे ।