काठमाडौं। काठमाडौं उपत्यकाका नगरपालिकाहरुले समयमै योजना कार्यान्वयन गर्ने अभियान सञ्चालन गरेका छन्। उपत्यकाका स्थानीय तहले उपभोक्ता समितिलाई योजना सम्झौतासम्बन्धी तालिम सञ्चालन गरी आगामी २०८१ वैशाखभित्रै सबै योजना सम्पन्न गर्ने गरी अभियान सुरु गरेका हुन्।
उपत्यकाका नगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा विकासका योजना कार्यान्वयन गर्ने प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेका हुन् ।
ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले समितिले योजना सम्झौता र कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्ने काम गरिरहेको बताए। ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले चालु आर्थिक वर्षका सबै योजना आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी अहिले धमाधम योजना सम्झौता र कार्यान्वयन भइरहेको बताए ।
काठमाडौँका टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले चालु आर्थिक वर्षमा सञ्चालन गर्नुपर्ने करिब आठ सय योजनामध्ये अहिलेसम्म २५ प्रतिशत योजना सम्झौता भइसकेको र बाँकी योजना सम्झौता हुने क्रममा रहेको बताए।