काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका समस्याबारे प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ।
समितिले हेटौँडा र उदयपुर सिमेन्टको आर्थिक, भौतिक र वर्तमान अवस्था बारेमा अध्ययन गरी उद्योग पूर्ण क्षमतामा चलाउन सक्ने नसक्ने अवस्था बारेमा विज्ञ सहितको टोलीले अध्ययन गरी उक्त प्रतिवेदन समितिलाई बुझाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले उदयपुर र हेटौँडा सिमेन्ट उद्योगको वर्तमान अवस्थाको अध्ययन गरी समितिलाई बुझाउन निर्देशन दिए। उनले दुई सिमेन्ट उद्योग पूर्ण क्षमतामा चलाउन कुन मोडल आवश्यक छ समेत खुलाएर प्रतिवेदन बुझाउन निर्देशन दिए।
त्यस्तै सभापति खानले नेपालमा उत्पादन हुने चिनि र खपत हुने चिनीका विषयमा विस्तृत अध्ययन गरी नेपाललाई अपुग चिनी समयमा नै खरिद प्रक्रिया शुरु गरी आपूर्ति व्यवस्था सहज बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए। उनले बजार अनुगमन प्रभावकारी बनाउन तीन तहमा कानून र नीतिगत रुपमा एकरुपता ल्याउने विस्तृत कार्ययोजना बनाउन केन्द्रिय बजार अनुगमन समितिलाई निर्देशन दिए।