काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले मातहतका कर्मचारीलाई सरकार र मन्त्रालयका महत्त्वपूर्ण काममा समय दिन आग्रह गरेका छन्। मन्त्रालय र मातहतका उच्च कर्मचारीको बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले मन्त्रालयको काम छोडेर अन्यत्र व्यस्त नहुन आग्रह गरेका हुन्।
उनले भने, “कम्तीमा पनि दैनिक ४ घण्टा सरकार, मन्त्रालयको काममा व्यस्त हुनुस् । अनावश्यक भेटघाट बन्द गर्नुस् । म पनि नियमित काम छाडेर अन्य भेटघाटमा लाग्दिन, तपाईहरु पनि सोही अनुसार गर्नुस्।”
नीतिगत, कानुनी एवम् संरचनागत रुपमा के कस्ता समस्या परे, त्यसको वस्तुनिष्ठ जानकारी दिन आग्रह गर्दै उनले मातहतका सबै निकाय इमान्दार भएर लागेको खण्डमा परिणाम निस्कने बताए । मन्त्री बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नियमित रुपमा १० बजे नै कार्यालयमा उपस्थित भएर काम शुरु गर्ने क्रम शुरु गरिसकेको जानकारी दिँदै यस मन्त्रालयमा पनि सोही अनुसार गर्न आग्रह गरे ।
उनले भने, “आकस्मिक काम बाहेक म पनि नियमित रुपमा कार्यालय खुल्ने बित्तिकै मन्त्रालयमा उपस्थित हुन्छु, तपाईहरु पनि त्यसै गर्नुहोला । अब कुनै पनि प्रकारको छुट दिन सकिदैन। ”