काठमाडौं। अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले यसअघि बिक्री नभएको हकप्रद सेयर लिलामीबाट बेच्ने भएको छ। दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीले १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामी बिक्री गर्ने भएको हो ।
कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । सोहीअनुसार सर्वसाधारणतर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५३० कित्ता हकप्रद सेयर लिलामीबाट निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ ।
इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष, सनराइज क्यापिटल र लक्ष्मी सनराइज बैंक शाखा कार्यालयमा आवेदन दिन सकिने छ ।
प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ मूल्य नघट्ने गरी आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्यूनतम १०० कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ ।