काठमाडौं। रोल्पाको त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ। सामान्य स्वास्थ्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता झेल्दै आएका स्थानीयवासीले गाउँपालिकाबाटै विशिष्टीकृत स्वास्थ्य सेवा लिन थालेका छन्।
सो गाउँपालिकाले स्थानीयवासीको उपचार सेवाका लागि चिकित्सकसहित अत्याधुनिक एक्स–रे सेवा दिएको छ। गाउँपालिकाले एकजना एमबिबिएस चिकित्सक नियुक्त गरी विशेषज्ञ सेवा दिन थालेको हो। डिआर सिस्टमको एक्स–रे सेवा उपलब्ध गराउनाका साथै गाउँपालिकाका दुईवटा स्वास्थ्य चौकी नुवागाउँ र नेर्पामा प्रयोगशाला सेवासमेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ।
उक्त गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानीले त्यहाँका स्थानीयवासी खुसी भएका छन्। सामान्य एक्स–रे र प्रयोगशाला सेवाका लागि पनि दाङलगायत जिल्लाबाहिर जानुपर्ने समस्या टरेको स्थानीयको भनाइ रहेको छ। आफ्नै घरआँगनबाट सो सुविधा उपभोग गर्न पाउँदा समय र पैसाको बचत भएको उनिहरुले जनाएका छन्। अहिले गाउँपालिकाले उपलब्ध गराएको स्वास्थ्य सुविधासँगै स्थानीयवासीले घरकै आटोपीठो खाएर उपचार गर्न पाएका छन्।
यसैगरी स्वास्थ्य सुधारका लागि महिला स्वास्थ्य स्वयं सेविकाहरुको सेवा सुविधा वृद्धि तथा क्षमता विकासमा पनि गाउँपालिकाले लगानी गरेको छ। साथै घरमा हुने प्रसूतिलाई निरुत्साहत गर्न र संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्न स्वास्थ्य संस्थामा प्रसूति गराउन आउने आमाहरुलाई यातायातस्वरुप नेपाल सरकारले उपलब्ध गराएको भत्तामा रु १ हजार थप गरेको गाउँपालिकाले जनाएका छ।
महिला स्वास्थ्य स्वयं सेविकालाई उपलब्ध गराएको प्रोत्साहन र संस्थागत सुत्केरीमा गरिएको प्रोत्साहनले गाउँपालिकाको स्वास्थ्य सूचकांकमा सकारात्मक परिवर्तन आएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।