काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाको कामलाई थप तीव्र पार्न निर्देशन दिएका छन्। सिंहदरबारमा आइतबार आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफलमा मेलम्ची खानेपानी आयोजनाको कामलाई थप तीव्र पार्न निर्देशन दिएका हुन्।
दैनिक १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने योजनासहित २८ दिनको एकीकृत कार्ययोजना निर्माण भई अहिले दुई सत्रमा काम भइरहेकामा प्रधानमन्त्रीले प्रसन्नता व्यक्त गरे । उनले भने, ‘एक महिनाभित्र मेलम्चीको पानी सुन्दरीजलमा ल्याइन्छ । यसैअनुरूप खानेपानी मन्त्रालयको नेतृत्व र सबै टिमले विशेष चासो दिएर काम गर्नुहोला ।’
उनले धारामा पानी नआउने, तर बिल आउने समस्याबाट धेरै उपभोक्ता दिकदार भएको भन्दै बिल मिनाहा गर्न समेत निर्देशन दिएका छन्।
उनले भने, ‘धारामा पानी नआउने, तर बिलचाहिँ आइरहने समस्या के हो? यसबाट उपभोक्ता दिकदार छन् । त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनुस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्ध रूपमा काम गर्नुस् ।’