महोत्तरी। रातु खोलामा नदीजन्य पदार्थ उत्खनन् कार्य तत्काल बन्द गर्न राजनीतिक दलहरुको स्थानीय नेतृत्वले माग गरेको छ। राजनीतिक दलहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रातु खोलामा भइरहेको उत्खनन् र अनियन्त्रित त्रसरलाई तत्काल बन्द गर्न नगरपालिकासँग माग गरेको हो।
तीन वर्षअघि अनुमित भन्दा सात गुणा बढी दोहन गरिएको रातु खोलामा नदीजन्य पदार्थ संकलनका लागि बर्दिबास नगरपालिकाले नियम विपरीत ठेक्का लगाएको भन्दै उनीहरुले रद्द गर्न माग गरेका हुन्।
कांग्रेस नेता चिरन्जीवी हमाल, एमालेका शंकर महतो, माओवादी केन्द्रका राजु खड्का, एकीकृत समाजवादीका सुरेशबहादुर राउत, लोसपाका चेतकुमार थापा, जनमत पार्टीका विमलेश महतो, रास्वपाका पर्शुराम बस्नेत र राप्रपा नेपालका यानिखर गौतमको हस्ताक्षर रहेको विज्ञप्तीमा रातु खोलामा भइरहेको अनियन्त्रित उत्खनन्ले जिल्लामा पानीको संकट निम्तिएको र पर्यावरणमा गम्भीर असर परेको उल्लेख छ ।
२०७७/०७८ को वातावरणीय प्रभाव मूल्यांकन अनुसार रातु नदीका ४ वटा खण्डबाट १ लाख २१ हजार ५ सय घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्ने ठेकेदार कम्पनी बीचको सम्झौता विपरित ठेक्का पाएका कम्पनीहरुले तोकिएको परिणाम भन्दा ७ लाख ६६ हजार १ सय ९० घनमिटर बढी क्षेत्रमा उत्खनन् गरेकाले सोको क्षति परिपूर्तिको अवस्थालाई समेत आंकलन नगरी अहिले पुनः ठेक्का लगाउनु नियमविपरित भएको विज्ञप्तीमा जनाइएको छ ।